दैलेख : असार १५ अर्थात राष्ट्रिय धान दिवस । ‘धान वालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ देश भर यो वर्ष १९ औँ धान दिवस मनाइयो । नेपालमा २०६१ सालदेखि विभिन्न नाराका साथ यो दिवस मनाइँदै आएको छ । कृषि प्रधान देशमा धान दिवस मनाइरहँदा किसानलाई भने कुनै उत्साह छैन ।
किसानलाई मनसुनले केही साथ दिएपनि वर्षेनी रासायनिक मलले साथ दिएको छैन । यस वर्ष पनि अधिकांश किसान मल बिनानै रोपाईं गर्न बाध्य छन् । अधिकाशं किसानले मल बिना धान रोप्नु परेको छ । धेरै ठाउँमा किसान मल नपाएर आत्तिएका छन् ।
असारलाई ‘मानो रोपेर मुरी फलाउने’ महिनाका रुपमा चित्रण गरिन्छ । मल अभाव ढिलो गरी मनसुन सक्रिय लगायतका कारणले असार १५ सम्म दैलेखमा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । अघील्लो वर्षको असार १५ सम्म दैलेखमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको हो ।
अघिल्लो वर्ष भन्दा यस वर्ष मनसुन ढिलो गरि सक्रिय भएकाले किसानहरुले पनि रोपाइँ ढिलो गरि सुरु गरेको देखिन्छन् । तर सिचाँई पुगेका केही ठाउँहरुमा भने किसानले मलको अभाव देखाउँदै रोपाइँ सुरु गरेका छैनन् । अर्गानिक प्रदेशका रुपमा चिनिएको कर्णालीको दैलेखमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र धान रोपाइँ हुनु सरकारले किसानका लागि मल उपलब्ध गराउन नसक्नु एक प्रमुख समस्या हो ।
विगतका वर्षहरुमा मध्य असारसम्म आधा भन्दा बढी रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको कृषि विकास कार्यालय दैलेखका कृषि प्राविधिक सहायक पूर्ण बहादुर थापाले बताए । दैलेखमा १ लाख ५० हजार २१ हेक्टर क्षेत्रफल जमिनमध्ये ४३ हजार १ सय २१ हेक्टर क्षेत्रफल जमिन खेती योग्य रहेको छ ।
त्यसमध्ये पनि ३४ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ८ हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुने गरेको कृषि सहायक प्राविधि थापाले बताए । कृषि विकास कार्यालय दैलेखका अनुसार हालसम्म कुल रोपाइँ हुनेमध्ये करिव ३ हजार हेक्टर क्षेत्रफल जमिनमा (३० प्रतिशत) धान रोपाइँ भएको छ ।
दैलेखमा धान रोपाइँ ढिलो हुनुको मुख्य कारण मनसुन ढिलो सक्रिय, किसानले समयमै मल नपाउँनु मुख्य मानिन्छ । दैलेखकोे अधिकांश भू–भागमा खेती गर्नका लागि आकाशे पानीको भर पर्नुपर्ने हुन्छ । मनसुन समयमै सक्रिय नहुँदा दैलेखका अधिकांश ठाउँमा पहिलो पटक लगाएका मकै खडेरीका कारण सुक्दा कृषकले दोस्रो पटक मकै लगाएका थिए ।
कृषकका लागि असार भनेको ‘मानो रोपेर मुरी फलाउने’ समय हो । तर पर्याप्त वर्षा र रासायनिक मलको अभावमा दैलेखका किसानहरुले समयमै खेती गर्न पाउँदैनन् । जसका कारण उत्पादनमा समेत ह्रास आउने र खाद्यान्नमा परनिर्भर हुने समस्या दैलेखमा छ ।
नेपाललाई कृषि प्रधान देश भएपनि मुलुकमा आयात हुने धानको परिमाण बढ्दो छ । चालु आर्थिक वर्ष २०७८÷७९ (साउनदेखि जेठसम्म) को ११ महिनामा नेपालमा ४९ करोड ३० लाख किलो चामल आयात भएको छ । त्यसका लागि २७ अर्ब १२ करोड रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ ।










